images
images

हकप्रद शेयरको चर्चापछि माथिल्लो तामाकोशीको शेयर कारोवारमा संक्रिट

  • १९ असार २०७९, आईतवार १८:३१

काठमाण्डौं । निरन्तर ओरोलो लाग्दै आएको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको शेयरमा संक्रिट लागेको छ । यो आयोजनाले हकप्रद शेयर जारी गर्ने चर्चा चलेसँगै आज शेयर मूल्य १० प्रतिशतले बढेर संक्रिट लाग्न पुगेको हो ।

आज विहान प्रति शेयर मूल्य ४४० रुपैयाँ रहेको माथिल्लो तामाकोशीको शेयर १० प्रतिशतले बढेर ४८५ रुपैयाँमा कारोबार भएको हो । कारोबार रकम पनि करिव ४७ करोड रुपैयाँको भएको छ । माथिल्लो तामाकोशीले हकप्रद शेयर जारी गर्ने भनिए पनि कति प्रतिशत र कहिले जारी हुने भन्ने यकिन निर्णय भईसकेको छैन । औपचारिक निर्णय आउन बाँकी रहेका कारण लगानीकर्ताले हकप्रद शेयर पाउनकालागि अझै कुर्नु पर्ने देखिन्छ । यो आयोजनाको शेयर मूल्य बढाउन हकप्रद शेयर निश्काषन हुने चर्चा बारम्बार हुदै आएको छ । माथिल्लो तामाकोशी आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले हकप्रदमा जाने सैद्धान्तिक सहमति भए पनि औपचारिक निर्णय भने हुन बाँकी रहेको बताउनुभयो । उहाँले सञ्चालक समितिले निर्णय गरेर बिद्युत नियमन आयोगले स्विकृति दिएपछि साधारण सभाले अनुमोदन गरेपछि मात्रै हकप्रद शेयर जारी हुने व्यवस्था भएपनि निर्णय हुन बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

स्वदेशी लगानीमा दोलखामा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलबिद्युत अयोजनाले वित्तिय संस्थावाट लिएको ऋण तिर्नकालागि हकप्रद शेयर जारी गर्न लागेको हो । यो आयोजनाले हाल दोहोरो अंकमा ऋणको व्याज तिर्दै आएको छ । उच्च व्याजदरमा लिएको ऋण हकप्रद शेयर जारी गरेर तिरेपछि लगानीकर्तालाई लाभांश बाँड्ने योजना आयोजनाको छ । करिव ८० अर्वको लागतमा निर्माण भएको माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालन भईरहेकाले बिजुली विक्रि गरेर राम्रो आम्दानी गर्न थालेको छ । आयोजनाले ऋण र व्याज भुक्तानी गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न सुरु गर्नेछ । तर, आयोजनाको ऋण तिर्न बाँकी रहेका कारण लाभांश लिनकालागि शेयर धनीले निकै लामो प्रतिक्षा गर्नु पर्नेछ ।