जिरी (दोलखा) । दोलखाबाट नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा थप ५ जना नेता मनोनित भएका छन् ।
दोलखा जिल्लाबाट नेता शंकर लामा, विशाल खड्का, गोपाल पाण्डे, नरबहादुर पाख्रिन र बलराम थापा माओवादी केन्द्रिय समितिमा मनोनित भएका हुन् । माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा दोलखाका चार नेताहरुलाई पनि समेटेको हो । केन्द्रिय सदस्य मनोनित भएका लामा नेकपा माओवादी केन्द्र दोलखाका संस्थापक, त्यागी, इमान्दार एवम् लोकप्रिय नेता हुन् । मेलुङ गाउँपालिका घर भएका उनलाई माओवादी केन्द्रका प्रभावशाली एवम् चर्चित नेताका रुपमा समेत चिनिन्छ । यसैगरी, केन्द्रिय सदस्य बनेका खड्का बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् । गौरीशंकर गाउँपालिकाका उनी माओवादी केन्द्र दोलखाका युवा नेता हुन् । बाल्यकालमै भूमिगत भएका खड्काले हाल लोकप्रिय युवा नेताका रुपमा पहिचान बनाउन सफल भएका छन् ।
यस्तै, कालिञ्चोक गाउँपालिका घर भएका पाण्डे यसअघिनै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भइसकेका नेता हुन् । उनी जनमुक्ति सेनाको कमाण्डर पनि भएका थिए । केन्द्रिय सदस्य बनेका नर पाख्रिन तामाङ समुदायका प्रभावशाली युवा नेता हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पछिल्लो समय माओवादी केन्द्रमा समाहित भएका थिए । राप्रपामा रहँदा उनी जिल्ला पार्टी अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत बनेका थिए । पाण्डे र पाख्रिन यसअघि वाग्मती प्रदेश सदस्यको भूमिकामा थिए ।
गौरीशंकरको खारे घर भएका थापा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहँदै आएका थिए । उनी प्रेस सेन्टर नेपालका पूर्व केन्द्रिय अध्यक्ष हुन् । मनोनित भएका पाँच जना नेताहरु वैकल्पिक केन्द्रिय सदस्यमा थपिएका हुन् ।










