दोलखा । दोलखामा नागरिकता र राहदानी बनाउनेको सँख्यामा कमी आएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष जिल्लाबाट राहदानी लिनेको संख्या घटेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ४६१ जनाले राहदानी लिएका छन् । राहदानी लिनेमा ४ हजार ३७५ पुरुष, २ हजार ९८२ महिला र ११४ नावालक रहेका छन् । २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म ५६ वटा नावालक दु्रत राहदानी सिफारिस भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
दोलखामा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ८ हजार ९२१ जनाले राहदानी लिएका थिए । राहदानी लिनेमा ५ हजार ७०३ महिला र ३ हजार ३२१ जना पुरुष रहेका थिए । दुई वर्षको तथ्यांकलाई हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी लिनेको संख्या १ हजार ४६० ले कमी हो ।
विगतका वर्षहरुमा राहदानी बनाउनेहरुको संख्या उल्लेख्य हुने गरेपनि गत आर्थिक वर्ष यो संख्या घटेको छ । जिल्लाका अधिकाँश युवाहरु यसअघि नैं राहदानी बनाएर वैदेशिक रोजगारीमा गईसकेको र अध्ययनकालागि विदेशीएका युवा बिद्यार्थीहरुको संख्या पनि उल्लेख्य भएका कारण नयाँ राहदानी बनाउनेको संख्यामा कमी आएको जिल्ला प्रशासन कार्यालय दोलखाका अधिकारीहरुले बताएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीवाट फर्किएर राहदानी नविकरण गर्न आउने, उच्च शिक्षा अध्ययनकालागि विदेश जान राहदानी बनाउने र छोराछोरीको निम्तोमा विदेश भ्रमणमा जानकालागि राहदानी लिन आउने बुबाआमाहरुको संख्या भने बृद्धि भएको छ ।
दोलखामा नागरिकता लिनेको संख्यामा पनि कमी आएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष नागरिकता लिने संख्या ५ हजार ५ सय ३५ ले कम छ । एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १२ वटा गैह्रआवासिय र ७ वटा वैवाहिक अंगिकृत नेपाली नगरिकता वितरण भएको छ ।
यसैबीच, दोलखामा नागरिकता लिनेको संख्यामा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्ष १६ हजार भन्दा बढिले नागरिकता लिएकोमा गत आर्थिक वर्ष साँढे १० हजारले नागरिकता लिएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष नागरिकता लिने संख्या ५ हजार ५ सय ३५ ले कमी छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय दोलखाबाट १० हजार ७५७ जनाले नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ६ हजार ६४८ जना महिला र ४ हजार १०९ जना पुरुष रहेका छन् । यसअघि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ हजार २ सय ९२ जनाले नागरिकता लिएका थिए । सो आर्थिक वर्ष ७ हजार ७४३ महिला र ८ हजार ५४९ पुरुषले नागरिकता लिएका थिए ।
गत आर्थिक वर्ष ७ हजार ५४० जनाले बंशजको आधारमा नागरिकता लिएको छन् । त्यसमध्य ३ हजार ७६९ जना महिला र ३ हजार ७७१ जना पुरुष छन् । एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १२ वटा गैह्रआवासिय र ७ वटा वैवाहिक अंगिकृत नेपाली नगरिकता वितरण भएको कार्यालयका नायव सुव्वा हरीराम न्यौपानेले जानकारी दिनुभयो । गैह्रआवासिय नागरिकता लिनेमा ८ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यस्तै, असार मसान्तसम्म वितरित नागरिकता प्रतिलिपिको संख्या ६ हजार १७७ रहेको छ । त्यसमध्य ३ हजार ३०९ पुरुष र २ हजार ८६८ जना महिलाले नागरिकता प्रतिलिपि लिएका छन् ।