काठमाडौं । दोलखाको काटाकुटीमा २२ वर्षअघि भएको सामूहिक हत्याकाण्डमा मारिएका सहिदका परिवारलाई सम्मान गरिएको छ ।
जनयुद्धको क्रममा काटाकुटीको बोद्ले गाउँमा सेनाले सामूहिक हत्या गरेका १५ जना माओवादी कार्यकर्ता अर्थात सहिदका परिवारलाई आईतवार सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्र दोलखाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २३ औं बोद्ले स्मृति दिवसमा उनीहरुलाई सम्मान गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्ष अग्निप्रसाद सापकोटा लगायतका नेताहरुले सहिद परिवारलाई सम्मान गरेका हुन् । जनयुद्धको क्रममा २०५९ साल साउन १८ गते दोलखाको काटाकुटीस्थित बोद्ले गाउँमा राती बास बसेका १५ जना माओवादीलाई तत्कालिन साही सेनाले सामूहिक हत्या गरेको थियो ।
गुटबन्दी नगर्न नेतालाई सुझाव
स्मृति सभामा बोल्दै बोद्ले हत्याकाण्डवाट भागेर ज्यान जोगाउन सफल भएका माओवादी केन्द्र दोलखाका नेता संकर लामाले पार्टी नेताहरुमा पदलोलुप्ता बढेको र गुटवन्दी बढेका कारण कारण पार्टी कार्यकर्ता र जनतामा निराशा छाउन थालेको बताउनुभयो । नेता लामाले सहिद पनि वर्गीय हुन लागेको भन्दै हुनेखाने र नेताका परिवारका सदस्य भए सम्झिरहने र साधारण परिवारका सहिद र उनका परिवारको सम्मान हुन नसकेको गुनासो गर्नुभयो ।
नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा भएको स्मृति सभामा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा सहित पार्टीको केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरुको उपस्थिती थियो । स्मृति सभामा बोद्ले हत्याकाण्डकासँग सम्वन्धित डकुमेन्ट्रि देखाइएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले सहिदहरुको सम्झना, परिवारका सदस्यहरुको सम्मान र बोद्ले घटनाका दोषिलाई कानूनी दायरामा ल्याउन दवाव सिर्जना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।








हाम्रो अपडेट 






