images
images

सडक बीचबाट धाँजा फाटेपछि सुनखानी–साङबा सडक पूर्ण रुपमा अवरुद्ध

  • १८ भाद्र २०७९, शनिबार १६:१७

जिरी (दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानी–साङबा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यो पटकको वर्षायाममा परेको अविरल वर्षाका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लापिलाङस्थित घट्टे खोला नजिक सडक बिचबाटै धाँजा फाटेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्लाकोे उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको सुनखानी–साङ्बा सडक अवरुद्ध बनेको हो । करिब दुई साता अघि देखिनै सो सडक धाँजा फाटेर अवरुद्ध भएकोमा बुधबारदेखि भने पूर्ण रुपमा अवरुद्ध भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोका कारण सो स्थानमा करिब एक सय मिटर सडक बिचबाटै फुटेर चिरा–चिरा भएको छ । सडकको बीच भागमै चिरा परेपछि बुधबारदेखि त्यसक्षेत्रमा सवारीका साधन पनि ठप्प छ । सडक अवरुद्ध भएपछि कालिञ्चोक गाउँपालिका वडा नम्बर १ देखि वडा ६ सम्मका स्थानीय बासिन्दा सास्ती व्यहोर्न बाध्य भएका छन् । अहिले त्यस क्षेत्रमा मानिसहरुले बैकल्पिक रुढ प्रयोग गरिरहेको पालिकाले जनाएको छ । सो सडक २०७७ सालमा कालोपत्रे गर्नका लागि ग्रावेल गरिएको थियो । ग्रावेल गरिएको सडक कालोपत्रेनै नगरी बिचबाटै धाँजा फाटेको हो ।

सडक मुनीबाट पहिरो गएसँगै तत्कालै  मर्मत गर्न नसकिने भएपछि अहिले स्थानीय वैकल्पिक बाटोको माध्यमबाट आवतजावत गर्ने गरेको गाउँपालिकाले जनाएको छ । यसैगरी हिजो सिसागोलाई पाटागाउँ खण्डमा पनि सडक माथिबाट पहिरो गएको छ ।

यसअघि पनि अविरल वर्षाका कारण सुनखानी साङ्वा सडक पटक–पटक अवरुद्ध हुन पुगेको थियो । सो सडक बागमती प्रदेश सरकारको बजेटमार्फत कालोपत्रे भइरहेको छ । हालसम्म सो सडकको ४ किलोमिटर कालोपत्रे भएको गाउँपालिकाले जनाएको छ ।