images
images

दोलखाका १६ हजार बढी बालबालिकाले लगाए पि फाइजर खोप

  • १८ भाद्र २०७९, शनिबार १८:४५

दोलखा । दोलखाका ५ वर्षदेखि ११ वर्ष उमेर समुहका १६ हजार भन्दा बढी बालबालिकाले कोभिड १९ विरुद्धको पि फाइजर खोप लगाएका छन् ।

जिल्लाका ९ वटा स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समुहका १६ हजार ७ सय ९१ जनाले पि फाइजर खोपको पहिलो मात्रा लगाएका हुन् । स्वास्थ्य कार्यालय दोलखाका अनुसार ८ हजार ५ सय ६४ जना बालिका र ८ हजार २ सय २७ जना बालकले खोपको पहिलो मात्रा लगाएका छन् । भीमेश्वर नगरपालिकामा सवैभन्दा बढी ४ हजार ३ सय ८३ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै गौरीशंकर गाउँपालिकाका १४ सय ३२ जना, विगुमा १५ सय ६५ जना बालबालिकाले कोरोना विरुद्धको पि फाइजर खोप लगाएका हुन् । यसैगरी कालिञ्चोक गाउँपालिकाका २३ सय ९७ जना, वैतेश्वरका १६ सय १० जना, तामाकोशीका १५ सय ५३ जनाले कोरोना विरुद्धको पि फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाका खोप फोकल पर्सन श्रीभद्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मेलुङ गाउँपालिकाका १२ सय ४७ जना, शैलुङका १२ सय १४ जना तथा जिरी नगरपालिकाका १२ सय ९० जनाले पि फाइजर खोपको पहिलो मात्रा लगाएका हुन् ।

दोलखाका ५ वर्षदेखि ११ वर्षसम्म उमेर समुहका बालबालिकालाई भदौ ५ गतेदेखि १५ गतेसम्म कोरोना विरुद्धको पि फाइजर खोपको पहिलो मात्रा दिइएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पि फाइजरको पहिलो मात्राका लागि जिल्लामा २३ हजार ३ सय डोज खोप आएको थियो । त्यसमध्ये ४ हजार डोज खोप स्वास्थ्य कार्यालय दोलखाको खोप भण्डारण केन्द्रमा राखिएको छ भने बाँकी सबै खोप बालबालिकालाई दिइएको कार्यालयले जनाएको छ । बालबालिकालाई पि फाइजर खोप दिनका लागि सम्बन्धीत विद्यालय, नजिकैको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको थियो ।