काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले नै सञ्चारमन्त्रीको राजिनामा माग गरेका छन् ।
नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरुले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरुले आज छुट्टाछ्टै विज्ञप्ती जारी गरि मन्त्री गुरुङलाई कारबाहीको माग गरेका हुन् । सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति विवादित भएपछि सत्तासाझेदार दलकै नेताले विज्ञीप्ती जारी गरि पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद भण्डारीले विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न माग गर्नुभएको छ भने कांग्रेसकै अर्का सांसद रामहरी खतिवडाले संसदमा प्रश्न उठाउनुभएको छ । सांसद खतिवडाले प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । सञ्चारमन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उहाँले जिब्रोमा ब्रेक लगाएर सदनमा जबाफ दिन आग्रह गर्नुभएको छ ।
मन्त्री गुरुङले शनिबार पोखरामा आयोजित कार्यक्रममा प्रहरी महानिरिक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिनुभएको थियो । प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि मन्त्री गुरुङको आलोचना भईरहेको छ ।
यसअघि आजै पूर्व प्रहरी सँगठन प्रमुख मञ्चले पनि विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको हो । साथै मञ्चले मन्त्री गुरुङलाई सो वचन तत्काल फिर्ता लिई प्रहरी सँगठन र प्रहरी महानिरिक्षकसँग क्षमायाचना गर्न पनि माग गरेको छ ।