काठमाडौँ । नेपालबाट बंगलादेशमा औपचारिक रुपमा विद्युत निर्यातका लागि बाटो खुलेको छ ।
नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत विक्रि सम्झौता भएसँगै नेपालले पहिलो पटक तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने भएको हो । नेपालको बिजुली बंगलादेशमा निर्यात गर्ने विषयमा आज नेपाल, बंगलादेश र भारतबीच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा आयोजित विशेष समारोहकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत व्यापार निगमकी सीईओ डेईनो नारान र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रिज्वान करिम लगाएतका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
नेपाल विक्रिकर्ता, बंगलादेश खरिदकर्ता र भारतको प्रसारण लाईन हुँदै लैजानुपर्ने भएकाले तीनै देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावट विद्युत बंगलादेश निर्यात गर्नेछ भने यसको आपुर्ति प्रणाली व्यवस्थापनमा भारतीय पक्षले आवश्यक सहयोग गर्नेछ । नेपालले बंगलादेशलाई प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४० अमेरिकी सेन्ट) का दरले विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
करिव ५ वर्षसम्म विद्युत निर्यातका लागि भएको सम्झौता अनुसार हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) बराबरको विद्युत बंगलादेश निर्यात हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । नेपालले भारतमा भने तीन वर्ष अघि देखि नै विद्युत निर्यात गर्दै आएको छ ।