images
images

निर्वाचनलाई प्रभावित पार्ने गतिविधि भएको गठबन्धनका युवा संगठनहरुको दावी, प्रतिरोध गर्ने चेतावनी

  • १७ कार्तिक २०७९, बिहीबार १२:५६

दोलखा । बाम–लोकतान्त्रिक गठबन्धनका युवा संगठनहरुले दोलखा जिल्लामा आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्धेस्यले विपक्षी दलका गतिविधि भईरहेको भन्दै त्यसलाई परास्त गर्न सक्षम रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल, नेकपा माओवादी निकट योङ कम्युनिष्ट लिग (वाईसिएल) र नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल (समाजवादी) ले आज बिज्ञप्ति निकालेर यस्तो बताएका हुन् । युवा संगठनहरुले जुनसुकै परिस्थितीमा पनि सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु र गराउनु आफूहरुको प्रमुख दायित्व भएको भन्दै निर्वाचन प्रभावित हुने हरेक चुनौतीलाई परास्त गर्न सक्षम रहेको उल्लेख गरेका छन् । तरुण दलका अध्यक्ष चित्र कुमार तामाङ, वाईसिएल जिल्ला इन्चार्ज छिरिङ थोकर तामाङ र युवा संघ नेपाल (समाजवादी) का अध्यक्ष रामहरि शिवाकोटीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा निर्वाचन प्रभावित पार्न खोज्ने जत्थालाई निश्क्रिय पार्न जुनसुकै कदम चाल्न पछि नपर्ने उल्लेख गरिएको छ । तर, बिज्ञप्तिमा निर्वाचन प्रभावित पार्न खोज्ने विपक्षी दल र शक्तिको नाम उल्लेख गरिएको छैन ।

युवा संगठनका नेताहरुले नेपालको संविधानको रक्षाका लागि गरिएको वाम लोकतान्त्रिक गठबन्धनमा प्रतिवद्धता जनाउँदै गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन एकिकृत भएर लागि पर्न युवाहरुलाई आव्हान पनि गरिएको छ ।