
काठमाडौँ । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
मुलपानीस्थित क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टि–२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगीताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आईतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ओमान भने शुक्रवार नै सेमीफाइनलमा बहराईनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी–२० विश्वकप खेल्न पाउने प्रावधान छ ।
टी–२० विश्वकपको नवौं संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्नेछ । जुन ४ देखि ३० सम्म अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । यसअघि नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुनः छनोट भएको हो ।