images
images

जिरीका किवी किसान संगठित, व्यवसायीक खेती र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने

  • १७ कार्तिक २०८०, शुक्रबार १८:२२

जिरी । (दोलखा) दोलखाको पर्यटकीय नगरी जिरीका किवी किसानहरु संगठित भएका छन् ।

व्यवसायीकरुपमा किवी खेती गर्दै आएका किसानहरुलाई जिरी नगरपालिकाले संगठित गराएको हो ।
जिरी नगरपालिकाले किवीको व्यवसायीक खेति बिस्तार, किवी फलको प्याकेजिङ, लेवलिङ र बजारीकरणमा सहयोग गर्ने योजना सहित किवी किसानहरुलाई संगठित गराएको हो । नगरपालिकामा आज आयोजित किवी उत्पादक किसानहरुसँगको अन्तरक्रिया कार्यक्रम पछि नगरस्तरीय किवी उत्पादक कृषक समुह गठन भएको छ ।

ओलक जिरेलको संयोजकत्वमा ९ सदस्यीय तर्दथ समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा खुसवहादुर कार्की, पासाङतेञ्जि शेर्पा, फुर्वा शेर्पा, भिमप्रसाद शर्मा, पदम वहादुर विक, भेषवहादुर खड्का, रुपा योगी र सोमवहादुर तामाङ रहेका छन् । कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले जिरीका किवी किसानलाई प्राविधिक तथा आर्थिक सहयोग, शित भण्डारण र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले किसानको उत्पादनलाई शित भण्डारसम्म ल्याउनकालागि कृषि एम्वुलेन्सको व्यवस्था गर्ने विषयमा समेत छलफल चलिरहेको जानकारी दिनुभयो ।

किसानहरुले उत्पादन गरेको किवी बजार नपाएर सस्तो मुल्यमा विक्रि गर्नु पर्ने बाध्यता आएपछि नगरपालिकाले किसानलाई भेला गराएर छलफल गराएको हो । कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले किसानसँग नगरपालिका साथमा रहेको भन्दै कृषकको हितमा नगरपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले किवी किसानलाई जिरीमा निर्माण भएको शित भण्डार सञ्चालनमा आउन लागेको भन्दै आफुले उत्पादन गरेको किवीलाई भण्डारण गरी राम्रो मुल्यमा विक्रिवितरण गर्न सुझाव दिनुभयो ।

जिरी नगरपालिकाका किसानहरु किवीको व्यवसायीक खेति गरिरहेका छन् । यो वर्ष मात्रै जिरीमा ३० टन भन्दा बढी किवी फल्ने अनुमान गरिएको छ ।