
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका ५ काब्रेस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म साकोसको कुल सम्पत्ति २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको हो । दोलखा सदरमुकाम चरिकोटमा आज आयोजित संस्थाको ३० औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष हेमन्त चौलागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभयो । संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ छ भने कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको छ । जनसचेतन साकोसको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ बजेट छ भने संस्थाको बाह्य ऋण १० करोड ५४ लाख ६९ हजार २ सय १४ रुपैँया छ ।
कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन् । जनसचेतन साकोसको गत आर्थिक वर्षको तुलनामा ६ दशलमव २० प्रतिशतले आम्दानी बृद्धि भएको छ । योसँगै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । आम्दानीसँगै खर्च पनि गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले बृद्धि भएको जनसचेतन साकोसले जनाएको छ । साकोसका अनुसार २४ करोड ८५ लाख ५३ हजार ५ सय ७६ रुपैँया खर्च भएको हो ।
संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको साधारणसभाको बागमती प्रदेशका सांसद भरत केसीले उद्धघाटन गर्नुभएको थियो । साधारणसभामा जिल्ला सहकारी संघका महासचिव कृष्णप्रसाद दहाल र संस्थाको तर्फबाट फुलकाजी तमाङ लामाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।