images
images

वर्तमान सरकार असफल भएको एमाले महासचिव पोखरेलको आरोप

  • १७ कार्तिक २०८०, शुक्रबार २०:५१

जिरी (दोलखा) । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

उहाँले पछिल्लो समय गठबन्धनको सरकार असफल हुँदै गएकोे दावी गर्नुभएको हो । नेकपा एमाले दोलखाले आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि आज दोलखा आउनुभएका महासचिव पोखरेलले जिरीमा आयोजित पत्रकार सम्मेलनमा सरकारको चर्काे आलोचना गर्नुभयो ।
उहाँले सरकारले तस्करीतन्त्रलाई प्रवद्र्धन गर्ने काम गरेको, वैधानिक अर्थतन्त्र कम भएको, नयाँ विकासका परियोजना अघि बढ्न नसकेको तथा मौद्रिक तरलताको अभावमा बैंकहरुले व्याजदरमा वृद्धि गर्ने स्थिति सिर्जना भएकोले त्यसको जिम्मेवार पक्ष सरकार रहेको बताउनुभयो । सरकारको कारणले व्यवसाय गर्नेहरु मर्कामा परेर व्यवसाय बन्द गर्नुपर्ने र आत्महत्या गर्ने सम्मको स्थिति सिर्जना भएको पोखरेलको आरोप छ । उहाँले प्रधानमन्त्रीले पछिल्लो पटक गरेको विदेशभ्रमणले राष्ट्रिय हितको प्रवद्र्धन गर्न नसकेको समेत दावी गर्नुभयो ।

सरकार असफल रहँदा कांग्रेसको भविश्य पनि संकटमा रहेको भन्दै गठबन्धनमा रहेको कांग्रेसले बेलैमा सोच्ने बेला आएको उहाँको भनाई छ । पत्रकारहरुसँगको प्रश्नमा पोखरेलले एमालेलाई सरकारमा जाने हतारो नरहेको बताउनुभयो ।