
जिरी (दोलखा) । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।
जिल्लामा आधा भन्दा बढी मतगणना भइसक्दा गठबन्धन र एमालेका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेकोे छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन दल र एमालेका उम्मेदवार बीचको मतान्तर निकै कम भएका कारण कसले चुनाव जित्छ भन्ने एकीन गर्न कठिन छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका नेता गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् । प्रतिनिधिसभामा गंगा कार्कीको अग्रता कायमै रहेपनि शिवाकोटीले पछ्याइरहेका छन् । हिजो बेलुकी ६ बजेसम्मको परिणाम अनुसार कार्की र शिवाकोटीको मतान्तर १५४५ थियो । कार्कीको गृहपालिका गौरीशंकर गाउँपालिकामा पछि परेपनि शिवाकोटीको गृहपालिका कालिञ्चोक गाउँपालिकाको मतगणना हुँदा मतान्तर घट्दै गएको थियो ।
आज दुई जनाबीचको मतान्तर बढीमा १२ सय पुग्दा शिवाकोटीले कम्तीमा ८ सय सम्म झार्न सफल भएका छन् । यसरी कडा प्रतिस्पर्धा भइरहँदा अब गठबन्धन दल र एमालेले विशेषगरी एक/एक वटा पालिकाको आसमा आफ्नो पक्षमा जित हात पार्ने भरोसालाई जिवित राखेका छन् । नेकपा एमाले भीमेश्वर नगरपालिकाबाट आफ्नो पक्षमा बढी मत आउने आसमा रहेको छ भने कांग्रेस र माओवादीले बैतेश्वरबाट लिड गर्ने आशा राखेका छन् । भीमेश्वरलाई एमालेको र बैतेश्वरलाई कांग्रेस र माओवादीको पटक क्षेत्रको रुपमा मानिन्छ ।
यद्धपी गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । भीमेश्वरमा नगरप्रमुखमा पराजय व्यहोरेपनि उपप्रमुख सहित नगरसभामा बहुमत जित हात पारेकाले सो क्षेत्रमा बढी मत पाउने एमालेको अपेक्षा छ । बैतेश्वरमा कांग्रेसले विजय प्राप्त गरेपनि माओवादीले पनि उल्लेख्य मत पाएको थियो । स्थानीय निर्वाचनमा दुवै दलले पाएको मत जोड्दा दोब्बर मत हुने भएकाले अहिलेको मतगणनामा बैतेश्वरबाट निर्णायक मत पाउनेमा गठबन्धन आशावादी छ ।
पछिल्लो मत परिणाम अनुसार माओवादीका उम्मेदवार कार्कीले हालसम्म ११ हजार २ सय २० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शिवाकोटीले १० हजार ३ सय ११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ९ सय ९ रहेको छ । प्रतिनिधिसभातर्फ हालसम्म २४ हजार ४ सय ९२ मतगणना हुँदा ९ सय ५२ मत भने बदर भएको छ ।
यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कुण्दनराज काफ्ले अगाडी छन् । नेपाली कांग्रेसका काफ्लेले हालसम्म २१ हजार ५२ मतगणना हुँदा १० हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने उनका निकतम् प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले ८ हजार ३ सय ८० मत पाएका छन् । श्रेष्ठ काफ्ले भन्दा १ हजार ७ सय ९३ मतले पछाडि छन् ।
प्रदेशसभा क्षेत्र २ मा भने नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार बर्मा लामा र एमालेका भरत केसीबीच कडा प्रतिस्पर्धा भइरहेको हो । हालसम्म लामाले ११ हजार ४ सय ६९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी केसीले ११ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् । लामा १ सय ७९ मतले पछाडी छन् ।
अहिले जिरी र विगुको मतगणना भइरहेको छ भने गौरीशंकर, शैलुङ, मेलुङ र कालिञ्चोकको मतपरिणाम आइसकेको छ । बैतेश्वर, तामाकोशी र भीमेश्वरको भने मत गन्न बाँकी छ ।