दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ ।
झुलेका स्थानीय २० वर्षिय सन्जीव सार्कीको जंगलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो । गएराति डाँडाबारी जंगलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याइएको थियो ।
आज विहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षिय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षिय रचेस मुग्राती, १५ वर्षिय सुमन तोलांगि, २२ वर्षिय माधव पोख्रेल, ४२ वर्षिय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षिय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो ।










