images
images

साईबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईं अझै चार दिन हिरासतमा रहने

  • १८ मंसिर २०८१, मंगलवार १६:११

काठमाडौँ । प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ ।

साईबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । प्रसाईलाई आज जिल्ला अदालत काठमाडौँले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साईबर ब्युरोका डीआईजी नविन्द अर्यालले जानकारी दिनुभयो ।

यो सँगै प्रसाईमाथि चौथो पटक म्याद थप भएको छ ।उनलाई प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न भन्दै अदालतले पक्राउ परेकै दिन ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने त्यसपछि मंसिर ९ गते पुनः ५ दिनको म्याद थप गरिएको थियो ।

प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएपछि प्रहरीले प्रसाईलाई विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रहरीले प्रसाईमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।