नेकपा माओवादी केन्द्रको महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकले अध्यक्षमा फेरि पुष्पकमल दाहाललाई सर्वसम्मत गरेको छ भने अन्य पदाधिकारीको टुंगो भने केही दिनमा लगाउने बताएको छ।
उपचारका क्रममा चीनमा रहेका माओवादी नेता बर्षमान पुन र माओवादी नेतृ ओनसरी घर्तीमगर मंगलबार फर्केपछि मात्र पदाधिकारीहरुको टुंगो लगाइने जानकारी बैठकपछि अध्यक्ष दाहालले गराएका थिए। बैठकबाट बाहिरिएका अध्यक्ष दाहालले भने- बर्षमान र ओनसरीजीहरु भोलि फर्कँदै हुनुहुन्छ, उहाँहरु फर्केपछि पदाधिकारीको टुंगो लगाउने छौँ।’
माओवादी महाधिवेशनको अन्तिम दिन आइतबार दाहालले बन्दसत्रमा २३६ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए। माओवादीको केन्द्रीय कमिटी बैठकले १५ सदस्यीय पदाधिकारीको टुंगो लगाउने छ। माओवादी बैठकका क्रममा सोमबार नवनिर्वाचित केन्द्रीय सदस्यहरुले शपथ लिएका थिए।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज मंगलबार मध्यान्न डिस्चार्ज हुने भएका छन् । चीनको सेनजेनमा जण्डिस रोगको उपचार गराईरहेका नेता पुन स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएपछि आज डिस्चार्ज हुन लागेका हुन् ।
हिजाे बसेको माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको बैठकपछि अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले नेता पुन भोलि डिस्चार्ज भएर नेपाल आउने जानकारी दिएका थिए । संचारकर्मिलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागीतामा पदाधिकारी टुंगो लगाउनु उचित हुने भएकाले आजको केन्द्रिय कमिटी बैठक २५ गतेसम्मका लागि स्थगित भयो । वर्षमान भोलि डिस्चार्ज हुँदैहुनुहुन्छ त्यसपछि नेपाल आउनुहुनेछ ।’
नेता पुनको पछिल्लो पटक गरिएको परीक्षण (होल बडी चेकअप) मा सवै सुधार देखिएको र अस्पतालले डिस्चार्ज गर्न लागेको उपचारमा संगै रहेकी पुन पत्नी ओनसरी घर्तीले जानकारी दिईन् । डिस्चार्ज भएपछि एक, दुई दिन आराम गर्ने र फलोअपमा परीक्षण गराएर नेपाल फर्कने उनले बताईन् । नेता पुन चीनमा ३९ दिन र बैंककमा ५९ दिन लामो उपचार सकेर नेपाल फर्कन लागेका हुन् । बैंककमा सुधार नभएपछि थप उपचारका लागि पुनलाई चीन लगिएको थियो ।