images
images

योगेश मन्त्री हुँदा नारायणहिटीमा रेस्टुरेन्ट चलाउन अनुमति: १० रोपनीको मासिक भाडा २ लाख !

  • २० पुष २०७८, मंगलवार ०७:२७

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र पनि माफियाहरुले व्यवसाय सञ्चालन गर्ने तयारी थालेका छन् । उक्त संग्रहालय परिसरभित्रको करिब १० रोपनी जग्गा मिलेमतोमा भाडामा दिइएको पाइएको छ ।

बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको बताइएको छ । सङ्ग्रहालयकै एक कर्मचारीका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको हो । हाल उक्त कम्पनीले गुपचुप रूपमा नाम समेत फेर्ने तयारी गरेकाे बुझिएकाे न्युज २४ ले जनाएको छ ।

स्रोतका अनुसार बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको हो । हरेक तीन वर्षमा सम्झौता थप्ने या नवीकरण गर्नेगरी सो जग्गा भाडामा लिएको लगाइएको छ । हाल दरबारमार्ग क्षेत्रमा प्रतिमहिना ५ लाखदेखि १५ लाख रुपियाँसम्म सटर भाडा रहेको व्यवसायीहरु बताउँछन् । तर दरबार परिसरभित्रैको जग्गा चाहिँ जम्मा २ लाख २० हजारमा भाडामा दिइएको छ । यसमा चलखेल भएको हुनसक्ने आशंका समेत गरिएको छ ।

ऐतिहासिक महत्वको सम्पदा क्षेत्रभित्र रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा दिइनु आपत्तिजनक रहेको सरोकारवाला बताउँछन् । भाडा सम्झौता गरिसकेपश्चात हाल त्यहाँ विभिन्न स्थायी संरचना बनाइँदै छ । तर रोचक कुरा त के छ भने ती संरचनाहरुको नक्सा पास गरिएको छैन । नक्सापास बिना नै भौतिक संरचना बनाइरहेको बुझिएको छ । जग्गा भाडामा लगाउन समेत कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा २०७७ साउनमा बोलपत्र आह्वान गरिएको पाइएको छ ।

निजी तथा सरकारी जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्दा सम्बन्धित स्थानीय तहबाट नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान रहे पनि नारायणहिटी सङ्ग्रहालयभित्र निर्माणा गरिँदै गरेको रेस्टुरेन्टका लागि भने आवश्यक नक्सा पास तथा स्थलगत नापजाँचसमेत नगरिएको काठमाडौँ महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए । उक्त रेस्टुरेन्ट सञ्चालनमा आएपछि नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुका साथै दरबारमार्ग क्षेत्रमा घुम्ने जोकोहीले पनि सहजै प्रवेश पाउने जनाइएको छ ।