images
images

नारायणहिटीमा रेष्टुरेन्ट चलाउन दिने योगेश भट्टराईको निर्णयमा प्रेम आले तगारो !

  • २० पुष २०७८, मंगलवार ११:३७

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले ऐतिहासिक सम्पदा नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माणको काम रोकेको छ । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा समितिले रेष्टुरेन्ट निर्माणको काम बन्द गर्न पत्राचार गरेको हो ।

समितिले बि. म्यानेजमेन्ट प्रालिलाई आज लेखेको चलानी नम्बर १९८ को पत्रमा रेस्टुरेन्ट निर्माण अगाडि बढेको काम सार्वजनिक भएसँगै विवाद सिर्जना भएको भन्दै मन्त्रालयको आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न भनिएको छ ।

संग्रहालयको करिब १० रोपनी जग्गामा रेस्टुरेन्ट व्यवसाय संचालन गर्न बतास कम्पनीसँग समितिले सम्झौता गरेको थियो । पुरातात्विक तथा ऐतिहासिक सम्पदामा स्थायी संरचना बनाउँन थालिएपछि मन्त्री आलेले रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न समितिलाई निर्देशन दिएका थिए । संग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको भाडामा दिइएको जग्गामा नक्सा पासबिनै बि म्यानेजमेन्ट प्रालिले रेस्टुरेन्ट बनाउँन सुरू गरेको थियो ।

बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको बताइएको छ । सङ्ग्रहालयकै एक कर्मचारीका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सङ्ग्रहालयका संरक्षक योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको कार्यकालमा सो जग्गा भाडामा दिइएको हो । हाल उक्त कम्पनीले गुपचुप रूपमा नाम समेत फेर्ने तयारी गरेकाे बुझिएकाे छ ।

बीपीएसले मासिक २ लाख २० हजार मात्र भाडा बुझाउने गरी उक्त जग्गा लिजमा लिएको हो । हरेक तीन वर्षमा सम्झौता थप्ने या नवीकरण गर्नेगरी सो जग्गा भाडामा लिएको लगाइएको छ । हाल दरबारमार्ग क्षेत्रमा प्रतिमहिना ५ लाखदेखि १५ लाख रुपियाँसम्म सटर भाडा रहेको व्यवसायीहरु बताउँछन् । तर दरबार परिसरभित्रैको जग्गा चाहिँ जम्मा २ लाख २० हजारमा भाडामा दिइएको छ । यसमा चलखेल भएको हुनसक्ने आशंका समेत गरिएको छ ।