images
images

वागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले रोक्यो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली

  • २० पुष २०७९, बुधबार १८:२४

हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले लाइन्सेन्स ट्रायलको ७० अंक प्रणाली तेस्रो पटक पनि रोकेको छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लागि दिइने ट्रायलमा ७० अंक ल्याए उतिर्ण हुने प्रणाली आजदेखि लागु गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको हो । ट्रायल सञ्चालकहरुको काठमाडौँ उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली लागु नगर्न दवाव दिइरहेको घटना सार्वजनिक भइरहेका बेला मुख्यमन्त्री कार्यालयले तेस्रो पटक हस्तक्षेप गरेर रोक लगाएको छ ।

मुख्यमन्त्रीको कार्यालयले यो प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि सो प्रणाली लागु नगर्न निर्देशन दिएको छ । चार सदस्यीय समितिलाई ७० अंक प्रणाली कसरी लागु गर्न सकिन्छ ? भन्नेबारे एक महिनाभित्र सुझाव सहितको प्रतिवेदन दिन भनिएको छ । गत पुस १० गते वागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको उपस्थितिमा ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरुले आजदेखि ७० प्रतिशत प्रणाली लागु गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर मुख्यमन्त्री कार्यालयले पुस १४ गते नै यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाइको जानकारी गराइएको हो । सो प्रणाली चार वटा प्रदेशमा लागु भइसके पनि वागमती प्रदेशमामा भने मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण पटक–पटक रोकिँदै आएको छ ।