काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
खानेपानीका आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अबको बाँँकी काम सम्पन्न गरी १० दिनभित्र काठमाडौं पानी पठाइने बताउनुभयो । दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी काम भइरहेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताउनुभएको छ । उहाँका अनुसार बाढीले ध्वस्त बनाएको संरचनामा हाल पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । हाल ४५ जना कामदारको दु्रत गतिमा काम भइरहेको उहाँको भनाई छ । हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको थियो ।
गत आर्थिक वर्ष २०७८ साल असारमा आएको बाढीले हेडवक्र्सको संरचनालाई करिब २० फिट अग्लो ग्रेगानले पुरेको थियो । सो ग्रेगान हटाएर अर्डिट सुरुङमा पसेको ढुंगा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । बाढीले मुहान क्षेत्रलाई तहसनहस बनाएपछि पानी काठमाडौँमा अस्थायी रुपमा ल्याउने तयारी भइरहेको सचिव आचार्यले बताउनुभयो ।










