images
images

१० हजार मेगावाट बिजुली निर्यातको सम्झौता र तीन प्रसारणलाइन उद्धघाटन हुने

  • १९ पुष २०८०, बिहीबार ०९:२३

काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता हुने भएको छ ।

नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका उर्जासचिव पंकज अग्रवालले १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी द्धिपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरको आजदेखि हुन लागेको नेपाल भ्रमणका क्रममा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्न लागेका हुन् । यो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत खरिद बिक्री सम्झौता गरी बिजुली लिने भएको छ । सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको उर्जा विकास रणनीति बनाइसकेको छ । भारतको संघीय मन्त्रीपरिषदले विद्युत आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।

विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका बेला आज तीन वटा प्रसारणलाइनको उद्धघाटन हुने भएको छ । १ सय २३ केभिए क्षमताको कटैया–कुशाहा प्रसारणलाइन, १ सय ३२ केभिए क्षमताको रक्सौल परवानिपुर प्रसारणलाइन र १ सय ३२ केभिए क्षमताको नौतन्या–मैन्हिया प्रसारणलाइनको विदेशमन्त्री जयशंकरले उद्धघाटन गर्नुहुने भएको हो ।