images
images

निश्क्रिय रहेका २१४ सहकारीको सदस्यता खारेज गर्ने जिल्ला सहकारी सँघ दोलखाको निर्णय

दोलखा । लामो समयदेखि निश्क्रिय रहेका दोलखाका २१४ सहकारी संस्थाको सदस्यता खारेज हुने भएको छ ।

जिल्ला सहकारी सँघ दोलखाले लामो समयदेखि निश्क्रिय रहेका २१४ सहकारी संस्थाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । सदरमुकाम चरिकोटमा आज सम्पन्न सँघको साधारण सभाले निश्क्रिय सबै सहकारीको सदस्यता खारेज गर्ने निर्णय गरेको सँघका महासचिव दिलबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नविकरण गर्न पटक–पटक अनुरोध गरेपनि सँघको नियमानुसार नविकरण नगरेका तथा सम्पर्कमा नआएका सहकारीहरुलाई खारेज गर्ने निर्णय गरिएको हो । जसअनुसार लामो समयदेखि सम्पर्कमा नरहेका अधिकांश उपभोक्ता सहकारी तथा कृषी सहकारीको सदस्यता खारेजीको प्रक्रियामा जानेछ । जिल्ला सहकारी सँघमा ३९६ सहकारी आवद्ध छन् । त्यसमध्य लामो समयदेखि निश्क्रिय सहकारीहरुको सदस्यता खारेज गरिनेछ ।

साधारणसभामा पुरस्कार र सम्मान

जिल्ला सहकारी सँघ दोलखाको १९ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सदरमुकाम चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न साधारणसभाको राष्ट्रिय सहकारी महासँघका अध्यक्ष डिवि बस्नेतले उद्धघाटन गर्नुभयो । सहकारीले साधारणसभाको अवसरमा सहकारी अभियानमा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्ति तथा सँघ संस्थालाई पुरस्कार तथा सम्मान गरेको छ ।

जसअनुसार उत्कृष्ट व्यवस्थापकका रुपमा जनउपकार साकोसका व्यवस्थापक चुडामणी घिमिरे पुरस्कृत भएका छन् भने उत्कृष्ट कारोबार गर्ने जनकल्याण साकोस तथा उत्कृष्ट ऋण कारोबार गर्ने अर्थभूमी साकोसलाई पनि सम्मान गरिएको छ ।

जिल्ला सहकारी सँघले साधारणसभाको अवसरमा उत्कृष्ट सहकारी अभियान्ताको रुपमा वैतेश्वर–८ का ढालबहादुर सापकोटा, पूर्व सञ्चालक तर्फ रत्नबहादुर श्रेष्ठ, उत्कृष्ट पुरुष कर्मचारीमा मिलिजुली कालिञ्चोक साकोसका रमेश सापकोटा तथा स्थानीय सरकारमा मेलुङ गाउँपालिकालाई सम्मान गरेको छ । यस्तै पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा सहयोग पु¥याएको भन्दै पत्रकार केदार शिवाकोटीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला सहकारी सँघका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाको अवसरमा बागमती प्रदेश सहकारी सँघको अध्यक्ष रामशरण घिमिरे, दोलखा जिल्ला बचत सँघका अध्यक्ष भूमीराज खड्का, कृषी सहकारी सँघका अध्यक्ष माधव प्रसाद घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।