images
images

दोलखाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, जिरीको अधिकांश भूभाग सेताम्य

  • २१ माघ २०७८, शुक्रबार ०८:५९

दोलखा । दोलखाको धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक सहित उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्लि भएसँगै दोलखाको धार्मिक एवम् पर्यटकीय क्षेत्र कालिञ्चोक सहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक, शैलुङ, जिरी, चेदुङ, खरिढुंगा र रोलवालिङ लगायत उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ । गएरातिदेखि वर्षासँगै सुरु भएको हिमपात अहिलेपनि जारी छ । हाल कालिञ्चोक, शैलुङ, खरिढुंगामा बाक्लो हिमपात भइरहेको छ भने जिरी, चेदुङ लगायतका स्थानमा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ । हिमपातपछि कालिञ्चोक, शैलुङ, खरिढुंगा लगायतका क्षेत्र सेताम्मे बनेको छ ।
बाक्लो हिमपातका कारण कालिञ्चोकको कुरीसम्म पुग्नलाई भने सवारी साधनलाई कठिन भएको छ । हिमपातका कारण अन्य स्थानहरुमा सवारी साधन अवरुद्ध हुने अवस्था नआएको दोलखा प्रहरीले जनाएको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै जिल्लामा चिसो पनि ह्वातै बढेको छ । चिसो बढेपछि जनजिवन कष्टकर बन्न पुगेको छ । विशेषगरी चिसोका कारण वृद्धवृद्धा तथा बालकालिका प्रभावित भएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण आज मुलुकभर वर्षा हुने भएको छ । गएराति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण मुलुकका विभिन्न स्थानमा मौसम बद्ली, मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज पनि विभिन्न प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात हुने भएको छ । बद्ली भएको मौसम आगामी आइतबारबाट सुधार आउने मौसम विद्हरुले बताएका छन् ।

कालिञ्चोक क्षेत्रमा भारी हिमपात हेर्नुहोस् तस्विरः