images
images

हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अवरुद्ध

  • २१ माघ २०७८, शुक्रबार १६:२१

दोलखा । दोलखामा हिमपातका कारण लामोसाँगु–जिरी सडकखण्ड अवरुद्ध भएको छ ।

करिब आधा घण्टा अघिदेखि लामोसाँगु–जिरी सडकखण्ड अन्तर्गत खरिढुंगा क्षेत्रमा सडक अवरुद्ध बनेको हो । गएरातिदेखि परेको हिमपातका कारण खरिढुंगा क्षेत्रका सडकमा हिउँ जमेकाले सडक अवरुद्ध बनेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । खरिढुंगा क्षेत्रको सडकको दायाँ/बायाँ ३ फिट हिउँ जम्नुका साथै बिच सडकमा २ फिट हिउँ जमेकाले सडकमा सवारीसाधन आवातजावत ठप्प भएको खरिढुंगा चेक पोष्टका असई प्रकाश केसीले बताउनुभयो । बाक्लो हिमपात सडकमा जमेका कारण सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि काठमाडौंँबाट दोलखा फर्कने र राजधानी काठमाडौं प्रवेश गर्ने ठुला तथा साना सवारी साधानहरु बिच बाटोमै अलपत्र परेका छन् । आवतजावत बन्द भएपछि यात्रुहरु बीच बाटोमै रोकिएका छन् । हाल अवरुद्ध सडक सुचारु गराउनका लागि स्काभेटरले हिउँ पन्छ्याएर सडक सफा बनाउन पहल भइरहेको असई केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो हिमपात भइरहेका कारण स्काभेटरले हिउँ पन्छ्याएर सडक सञ्चालनमा ल्याउन पनि समस्या छ ।

यसैबीच, यो वर्षको पहिलो पटक चरिकोटमा समेत हल्का हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली हुँदा उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो भेगहरुमा पनि हल्का हिमपात भइरहेको हो ।