हेटौँडा । बागमती पदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफु नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरुलाई सार्वजनिक गर्नुभएको हो । मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा उल्लेख गर्नुभएको छ । सार्वजनिक गरिएको उपलब्धिमा प्रदेश सरकारको स्थायी बासिन्दालाई निशुल्क रक्तसञ्चार उपलब्ध गराउने सरकारको निर्णयलाई महत्वपुर्ण रहेको उल्लेख गरिएको छ ।
यस्तै, प्रदेशको १ सय १९ वटा स्थानीय तहबाट एक जनाको दरले दलित, अल्पसख्याक, लोपोन्मुख र सीमान्तकृत जातिका विद्यार्थीलाई उच्च माध्यमिक तहको प्राविधिक विषय र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने महिलालाई छात्रवृत्ति प्रदान गर्ने पनि सरकारले सुरु गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले बागमती प्रदेशमा सञ्चालित सवारी साधनको भाडालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनको लागि समेत आवश्यक प्रक्रिया अघि बढाइएको छ । प्रदेश सरकारको प्रशासकीय भवनको लागि जग्गा पहिचान समिति गठन, कोभिड १९ व्यवस्थापन प्रदेश निर्देशक समिति गठन, रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कुरा उल्लेख गरिएको छ ।
यसैगरी, ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको कार्यलाई पनि प्रदेश सरकारको उपलब्धिमा राखिएको छ । विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षिय योजनाको रुपमा राख्ने गरेकाले आफुहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरेको मुख्यमन्त्री पाण्डेको भनाई छ । प्रदेश सरकारको आर्थिक रुपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा दिन पदन मन्त्रालय वृद्धि गरेकोे कुरा उपलब्धिमा समेटिएकोे छ ।
पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी छन् ।