काठमाडौं । काठमाडौंमा राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा सिन्धुपाल्चोकका एक सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षिय दिनेश तामाङ, टोखाको बेसीसहर गाउँपालिका ११ का ४० वर्षिय नवीनकुमार श्रेष्ठ र सुर्खेतको वीरेन्द्र नगरपालिका वडा नम्बर १२ का ३६ वर्षिय यमबहादुर थापा मगर रहेका छन् । महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रिपुरेश्वरस्थित राहदानी विभागको हाता बाहिरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले कम्प्युटर, ल्यापटप र प्रिन्टर तथा ४० हजार नगर र ५० थान किर्ते गरिएको कागजपत्र बरामद गरेको छ । उनीहरुमाथि किर्ते गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।