images
images

कालिन्चोक भ्रमणमा आउने पर्यटकसँग मनपरी भाडा असुली, प्रभावकारी अनुगमन नहुँदा बढ्यो ठगी

दोलखा । आर्थिक मन्दीका बीच दोलखामा फाट्टफुट्ट आन्तरिक पर्यटक बढेपनि यातायात भाडामा निरन्तर ठगिएको गुनासो बढ्दै गएको छ ।

नियमानुसार रातो नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने भए पनि दोलखामा यस्ता सवारीका साधनहरुले भाडा लिएर यात्रु ओसारपसार गरिरहेका छन् । खासगरी निजी नम्बर प्लेटका बोलेरो लगायतका सवारीका साधनले चरिकोटदेखि पर्यटकीय एवँ धार्मिक केन्द्र कालिन्चोकसम्मको यात्रामा मनपरी भाडा असुलेको गुनासो आएको छ । जसका कारण दोलखामा आउने आन्तरिक पर्यटकहरु ठगिने गरेको सन्देश गएको छ । यसका कारण दोलखाको पर्यटन व्यवसायमा समेत असर परेको छ ।

दोलखा आसपासको जिल्ला, काठमाडौं उपत्यका र तराईदेखि सार्वजनिक यातायातमा आउने पर्यटकहरु सदरमुकाम चरिकोट र भीमेस्वरको मकैवारीमा ओर्लिएर बोलेरो मार्फत कालिन्चोक पुग्ने गरेका छन् । चरिकोटवाट कालिन्चोकसम्म बस लगायतका सार्वजनिक यातायातका साधन नचल्ने भएकाले १७ किलो मिटरको दुरी बोलेरोमा यात्रा गर्नु पर्ने बाध्यता छ । तर, बोलेरो, स्कारपियो, जिप लगायतका सवारीका साधनले मनोमानी भाडा लिएपछि दोलखा भ्रमणमा आउने पर्यटकले ठगिएको गुनासो गरेका हुन् । केही दिन अघि काठमाडौंवाट दोलखा आएका पर्वत, बागलुङ र रुकुमका ४ जना युवती अरनिको यातायातको सुमोलाई प्रति व्यक्ति ८ सय रुपैयाँ भाडा तिरेर दोलखा आए ।

मकैवारी आउनासाथ सुमो चालकले त्याहाँ लामवद्ध भएका बोलेरोलाई पर्यटक जिम्मा लगाए । काठमाडौंदेखि ८ सय रुपैयाँमा १३० किलोमिटर दुरी यात्रा गरेका ती युवतीलाई बोलेरो चालकले प्रति व्यक्ति १ हजार रुपैयाँ भाडा मागे । पहिलो पटक दोलखा भ्रमणमा आएका ती युवतीले केहिवेर भाडा महँगो भएको गुनासो गरे । सुनुवाई नभएपछि प्रति व्यक्ति १ हजारका दरले शुल्क तिरेर अरु यात्रीसँग कोचाकोच गरेर ४ जना युवतीहरु १७ किलोमिटर टाढा रहेको कालिन्चोक यात्रा तय गर्न बाध्य भए ।

कालिन्चोक भ्रमणकालागि काठमाडौंवाट आउने यात्रुहरुलाई मकैवारीमा झारेर यातायात भाडामा बार्गेनिङ गर्ने गरिएको छ । मकैवारीमै रोकिएर बस्दा खान बस्न समेत समस्या हुने भएकाले भनेजति भाडा तिर्न यात्रुहरु बाध्य छन् । चरिकोटको सातदोबाटो चोकमा पनि बोलेरो, जिप, सुमो लगायतका सवारीका साधनले लाईन लागेर बार्गेनिङ गरेको देखिन्छ । यसले यात्रुहरु ठगिने क्रम बढेको हो । तर, यातायात व्यवसायीहरुले भने आफुहरुले बार्गेनिङ नगरेको दाबी गर्दै आएका छन् । भाडामा एकरुपता कायम गरेको उनीहरुको दाबी छ ।

खासगरी निजी नम्बर प्लेटका बोलेरो लगायतका सवारीका साधनले चरिकोटदेखि पर्यटकीय एवँ धार्मिक केन्द्र कालिन्चोकसम्मको यात्रामा मनपरी भाडा असुलेको गुनासो आएको छ । कालिन्चोक भ्रमणकालागि काठमाडौंवाट आउने यात्रुहरुलाई मकैवारीमा झारेर यातायात भाडामा बार्गेनिङ गर्ने गरिएको छ । मकैवारीमै रोकिएर बस्दा खान बस्न समेत समस्या हुने भएकाले भनेजति भाडा तिर्न यात्रुहरु बाध्य छन् । चरिकोटको सातदोबाटो चोकमा पनि बोलेरो, जिप, सुमो लगायतका सवारीका साधनले लाईन लागेर बार्गेनिङ गरेको देखिन्छ ।

ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी सहायक निरीक्षक (असई) बिष्णुराज पुरीले यातायातको क्षेत्रमा रातो नम्बर प्लेटको सवारी साधन निजी प्रयोजनमा मात्रै प्रयोग गर्न पाउने भनिए पनि जिल्लाको भौगोलिक अवस्थाका कारण अन्य विकल्प नभएपछि यसलाई प्रयोग गर्न दिएको बताउनुभयो । कालिञ्चोक जाने बाटो कच्ची भएर अरु सवारीका साधन जान नसक्ने भएकाले बोलेरोको विकल्प नभएपछि रातो नम्बर प्लेटका सवारी साधन चल्न दिएको उहाँको भनाई छ । पर्यटकहरुलाई चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि छड्के जाँच गरेर केही पर्यटकलाई सोधपुछ गरिए पनि सहमतिमा रकम दिएकोले कारवाही गर्न नसकिएको ट्राफिक प्रहरी प्रमुख पुरीको भनाई छ ।

कुनै सवारी साधनले चर्को भाडा असुल गरेमा मौखिक रुपमा उजुरी गर्नसक्ने व्यवस्था भएपनि उजुरी आउनै नसकेको ट्राफिक प्रहरीले बताएको छ । यसअघि ट्राफिक प्रहरी, यातायात व्यवसायी र सरोकारवाला वीच भएको छलफलमा हिउँद मौसममा कालिञ्चोक पुगेर आउँदा अधिकतम ५ हजार रुपैयाँसम्म भाडा लिन सकिने र बर्षा याममा रात बास बसेर फर्किदा ८ हजारसम्म लिन सकिने गरी भाडा दर कायम भएको थियो । यद्धपि सो सहमति कार्यान्वयन हुन सकेको छैन । यातायात भाडामा मनलागि शुल्क लिएमा यातायात व्यवसायीलाई १ हजार देखि ५ हजारसम्म नगद जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले जिल्लामा पर्यटकको नजरमा जिल्लाको राम्रो छवि बनाई राख्न यातायात लगायत होटल व्यवसायीको पनि प्रमुख भूमिका हुने भएकाले आ–आफ्नो ठाउँबाट ईमान्दारिता कायम गर्नुपर्ने बताउनुभयो । यातायात भाडामा पर्यटकहरु ठगिएको गुनासो आएपछि उद्योग बाणिज्य संघले पनि यस विषयमा छलफल गरेको र भाडादरमा समानता कायम गर्न सम्वन्धित निकायमा समन्वय गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

निजी बोलेरोबाट यात्रुहरु ठगिएको गुनासो बढेकाले यस बिषयमा छिट्टै निर्णय लिने जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको थियो । तर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सरुवा भएर जाँदासम्म बोलेरो भाडामा हुने मनोमानीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ठोस पहल गर्न सकेन ।