
काठमाडौं । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सञ्चालन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नुहुनेछ । आजदेखि सुरु भई फागुना ६ गतेसम्म सञ्चालन हुनेछ । देशभरका १७ लाख किशोरीहरु यो खोप दिइने भएको छ । यसैबीच, बागमती प्रदेशका करिब ३ लाख किशोरीलाई आजदेखि पाठेघर क्यान्सर विरुद्धको एचपीभी खोप लगाइँदै छ । आजबाट सुरु हुने खोप अभियान अन्र्तगत बागमती प्रदेशका २ लाख ९८ हजार ३ सय ५ जना किशोरीलाई एचपीभी खोप लगाईने भएको हो ।
फागुन ६ गते सम्म १३ जिल्लाका विद्यालय भित्रका कक्षा ६ देखि १० सम्मका २ लाख ७५ हजार ७१ जना किशोरी र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका २३ हजार २ सय ३४ जना किशोरीलाई एचभीपी विरुद्धको खोप दिने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका उपनिर्देशक नरेन्द्र झाले बताउनुभयो । जसअनुसार दोलखाका ६ हजार ५२० जना, सिन्धुपाल्चोकका १० हजार ४६८ र रामेछापका ७ हजार ७८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने छ ।
यस्तै, नुवाकोटका ११ हजार १७८, ललितपुरका ३१ हजार ९८५, चितवनका ३१ हजार ५७०, मकवानपुरका २२ हजार ७१३, भक्तपुरका १९ हजार २९५, काभ्रेका १६ हजार ११३, सिन्धुलीका १४ हजार ६२२, धादिङका १३ हजार ९७३ जना रहेका छन् । खोप अभियान सञ्चालनका लागि ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइने भएको छ ।