
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको अवधिमा ५५ वटा योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
मेलुङमा चालु वर्ष १२५ योजना सञ्चालन भएकोमा साउनदेखि हालसम्मको अवधिमा ५५ वटा योजनाको काम सम्पन्न भएको हो । पालिकामा उपभोक्ता समितिमार्फत ५० वटा र ठेक्कामार्फत् ५ वटा योजनाको काम सम्पन्न भएको छ ।
गाउँपालिकाले हालसम्म ११० वटा योजनाको सम्झौता गरिसकेको छ । कुल सञ्चालित योजनाको ९० प्रतिशत योजनाको सम्झौता भैसकेको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख नविन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मेलुङमा चालु वर्ष कुल ५६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३४.३८ प्रतिशत खर्च भएको छ । मेलुङमा चालुतर्फ १४ करोड १३ लाख ३८ हजार अर्थात् ३७.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ५ करोड २१ लाख २१ हजार अर्थात् २८ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।
चालु वर्ष पूर्वाधार विकासतर्फ १५ करोड ५ लाख ५५ हजार, खानेपानी सरसफाईतर्फ ३ करोड १८ लाख लगायत गरी पुँजीगततर्फ कुल १८ करोड ८० लाख ५ हजार बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले चालु वर्ष उपभोक्ता समितिमार्फत सञ्चालित योजना माघ मसान्तभित्र सम्झौता गरिसक्ने र चैत मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको अध्यक्ष हिराकुमार थोकरले जानकारी दिनुभयो ।
ठेक्कामार्फत सञ्चालन हुने योजना अन्र्तगत २०८१ साल साउनभित्र सूचना प्रकाशन गर्ने र असोजभित्र सम्झौता गरिसक्ने लक्ष्य लिएको र सोहीअनुसार लक्ष्य हासिल गरेको अध्यक्ष थोकरले बताउनुभयो । मेलुङमा चालु वर्ष ठेक्कामार्फत् १४ वटा योजना सञ्चालन गरिएको छ । जसमध्ये ठेक्कामार्फत् ५ वटा योजनाको निर्माण सम्पन्न भैसकेको छ ।
मेलुङमा गाउँपालिकाको ११५, प्रदेश सरकारका ९ वटा र संघको एक वटा योजना सञ्चालनमा रहेका छन् । प्रदेश सरकारका ९ वटामध्ये २ करोडका दुईवटा समपुरक अनुदानका योजना रहेका छन् भने ६ वटा सर्शत अनुदान र एउटा विशेष अनुदानको योजना सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ ।
जसअनुसार समपुरक अनुदान अन्तर्गत पिपलडाँडा वडा कार्यालय भन्ज्याङ सडक मेलुङ गाउँपालिका वडा नम्बर २ र ३ तथा मानेडाँडा हिले डाँडाखर्क सुँगुरे दुधिले भन्ज्याङ मंसिरे खोला सडक मेलुङ ५ र ६ मा हाल काम भैरहेको छ । यी दुई योजनाका लागि प्रदेशको एक करोड र मेलुङ गाउँपालिकाको १ करोड गरी दुई करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, संघीय सरकारमार्फत् चालु वर्ष झोरखोला खानेपानी आयोजना र प्रदेशमार्फत अधेरी खोला खानेपानी योजना विशेष अनुदान अन्तर्गत ८० लाख लागतमा सञ्चालन भैरहेको गाउँपालिकाले जनाएको छ ।