images
images

जिरी नगरपालिकाले अब ८ दिन मात्रै योजना सम्झौता गर्ने

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले अब ८ दिन मात्रै योजनाको सम्झौता गर्ने भएको छ ।

नगरपालिकाले यही माघ मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने भएको हो । नगरपाकिाले कार्यतालिका नै बनाएर विकास निर्माणको योजना सम्झौता, कार्यान्वय र भुक्तानी गर्ने समयसीमा तोकेको छ । सोही अनुसार चालु आर्थिक वर्षको योजनाहरु सम्झौता अब माघ मसान्तसम्म मात्रै हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

योजना सम्झौताको लागि अब करिब एक साता मात्रै बाँकी रहेकोले सम्झौता गर्न बाँकी भएमा तत्काल सम्झौता गर्न आउन समेत उपभोक्ता समितिलाई नगरपालिकाले आवह्वान गरेको छ ।जिरी नगरपालिकाले हालसम्म ६२ दशमलव ७९ प्रतिशत योजनाको सम्झौता गरिसकेको र ३७ दशमलव २१ प्रतिशत योजनाको सम्झौता हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार उपभोक्ता समितिमार्फत सञ्चालन हुने १७२ वटा योजनामा हालसम्म ४२ वटा योजनाको भुक्तानी भैसकेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म समग्रमा १४ करोड ९८ लाख ५५ हजार ६ सय ९ रुपैंया खर्च गरेको छ । आजसम्म चालुतर्फ ३५ दशमलव ०९ प्रतिशत र पूँजीगततर्फ ११ दशमलव ६८ प्रतिशत खर्च भएको सहायक लेखा अधिकृत रुद्र प्रसाद दाहालले जानकारी दिनुभयो । जिरी नगरपालिकाले चालु आर्थिक वर्षको लागि ५५ करोड ९८ लाख ८ हजार रुपैंया बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिना पुग्नै लाग्दा आजसम्म ५१ लाख २१ हजार २ सय ६ रुपैंया आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्षको मसान्तसम्म ३ करोड ५० लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको नगरपालिकाले हालसम्म ५१ लाख २१ हजार आम्दानी गरेको हो ।