काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ ।
खटपटका बीच चलिरहेको साझेदारी अन्ततः टुटेको हो । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । गएराति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् । पुस १० को गठबन्धन ब्युँत्याउने प्रयास भए पनि राप्रपालाई सहभागी गर्ने नगर्नेबारे निश्चित नभइसकेको नेताहरूको भनाई छ ।
यसैबीच, नेकपा एमालेले पार्टीबाट पदम गिरीलाई मन्त्री बनाउने भएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने सम्मको निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । माओवादीले पनि वर्षामान पुनलाई मन्त्री बनाउने तयारी गरेको छ भने रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने चर्चा छ ।










