images
images

औपचारिक क्षेत्रकै ठूलो जनशक्ति सामाजिक सुरक्षा कोषमा जान सकेनन्, के छ सेवा सुबिधा ?

  • २० फाल्गुन २०८१, मंगलवार १५:२५

काठमाडौँ । औपचारिक क्षेत्रकै ठुलो जनशक्ति हालसम्म सामाजिक सुरक्षा कोषमा जान सकेका छैनन् ।

सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्न नसकेको हो । २०७८ को जनगणना अनुसार नेपालको कुल श्रमिक शक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ भने औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ देखि ३५ लाख रहेको अनुमान छ । तर, २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक मात्रै सामाजिक सुरक्षा योजनामा सहभागि भएका हुन् ।

छोराछोरीले समेत सुविधा पाउने

आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले कार्यविधि संशोधन गरेको छ । आकर्षण बढ्न नसकेपछि कार्यविधि संशोधन गरि कोषले यसअघि योगदानकर्ता र दम्पत्तिलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने व्यवस्था गरेको हो ।

६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रुपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ । दुर्घटनामा परेमा योगदानकर्ताको मात्रै उपचार गर्ने यसअघिको व्यवस्थामा हाल योगदानकर्ताका दम्पत्ति वा सन्ततीको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ ।

कामको सिलसिलामा दुर्घटना भए सबै खर्च व्यहोर्ने

संशोधित व्यवस्था अनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति/पत्नि तथा १८ वर्षमुनिका छोराछोरीले औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अन्य दुर्घटनामा ७ लाख र कामको सिलसिलामा भएको दुर्घटनामा लागेको सबै खर्च व्यहोर्ने व्यवस्था छ ।

कोषमा योगदान गर्न सुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्राररम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागुु रहने नयाँ व्यवस्था राखिएको छ ।
सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि पाँचौँपटक कार्यविधि संशोधन गरिएको र यो लागु भईसकेको सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिनुभयो ।