भक्तपुर । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।
मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् । यादवलाई गएराति नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गर्दा नियमित सुरक्षा जाँचका क्रममा प्र २–०२–००१ च ०८७ नम्बरको गाडीमा बिस्फोटक बस्तु जस्तो देखिने पदार्थ र गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।
सो नगद बरामद पछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।नियन्त्रणमा लिइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।
नेकपा पर्साका उम्मेदवार चौधरी पक्राउ, शंकास्पद बस्तु बरामद भएको प्रहरीको भनाई
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पर्साबाट पक्राउ परेका छन्।
मौन अवधीको समयमा शंकास्पद गतिविधि गरेको आरोपमा पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार चौधरीलाई गएराति शंकास्पद बस्तुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । चौधरी सवार बा१० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै चौधरी सवार गाडीसहितको क्षेत्रलाई घेराबन्दी गरिएको छ। चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण दास र सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी पनि पक्राउ परेका छन्।










