भक्तपुर । मौन अवधिको समयमा नगदसहिद पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् ।
उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिएका छन् । उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो लाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउने गरी छाडिएको जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतिले बताएका छन् ।
उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।त्यस्तै, बरामद रकम र प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।
यसैगरी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पैसा बाँड्दै हिँडेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।
हिजो पक्राउ परेका महरा आज रिहा गरिएको धनुषाका एसपी रुगम कुँवरले बताएका छन् । प्रहरीले उनको साथबाट ४८ हजार ५ सय नगद र पैसाको हिसाब उल्लेख भएको डायरी बरामद गरेको थियो । बोलाएको बेलामा आउने गरी हाजिर जमानीमा अनुसन्धान भईरहेको एसपी कुँवरले बताएका छन् ।










