images
images

मध्यपूर्वी तनावको प्रभाव खेलमाः नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक सिरिज स्थगित

काठमाडौं । पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सूचना जारी गर्दै काठमाडौंमा मार्च १० अर्थात् १० दिनपछि सुरु हुने भनिएको प्रतियोगिता रद्द भएको जानकारी दिएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तय भएको सिरिज हालका लागि स्थगित भएको छ ।

खाडी मुलुकमा हवाई मार्ग बन्द भएका कारण यूएई र ओमानका टोलीलाई नेपाल आउन समस्या भएपछि सिरिज स्थगित गरिएको हो । सिरिजका लागि दुवै टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो । अब अर्को सूचना नभएसम्म यी खेल नहुने क्यानले जनाएको छ।

आगामी दिनमा थप परामर्श गरेर नयाँ मिति सार्वजनिक गरिने क्यानले जनाएको छ । सिरिजका लागि नेपालको २० सदस्यीय प्रारम्भिक टोली घोषणा भएर हाल बन्द प्रशिक्षणमा रहेको छ ।