
दोलखा । बागमती प्रदेश सरकारले दोलखा सहितका जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रमका लागि आवेदन माग गरेकोमा १७ वटा पदमा एउटा पनि आवेदन परेको छैन ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र रसुवामा माग गरे अनुसारका कर्मचारीको आवेदन नपरेको जनाएको हो । दोलखाका लागि माग गरिएको मध्ये ५ वटा पदमा एउटा पनि आवेदन परेको छैन भने रामेछापमा पनि सोही संख्यामा आवेदन परेको छैन । यस्तै सिन्धुपाल्चोकमा दुई, धादिङमा ३, नुवाकोट र रसुवामा एक–एक वटा पदमा एउटा पनि आवेदन नपरेको हो । प्रदेश सरकारले दोलखाको तामाकोशी गाउँपालिकामा एक विद्यालय एक नर्स कार्यक्रमका लागि दुई जनाको आवेदन माग गरेकोे थियो भने मेलुङ गाउँपालिकामा दुई जना र विगु गाउँपालिकामा एक जनाका लागि आवेदन माग गरेको थियो ।
तर ति पालिकाका लागि एक जनाको पनि आवेदन नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आवेदन दिएकामध्य भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकामा भने एक–एक जना नर्स छनोट भएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमका लागि १ सय २९ जना माग गरेको थियो । त्यसका लागि ४ सय २५ जना लिखित परिक्षामा सहभागी भएकोमा अन्र्तवार्ताका लागि ३ सय ४८ जना छनोट भएका थिए ।
प्रदेशको सवास्थ्य मन्त्रालयले अन्र्तवार्तामा सहभागी भएकाहरुको अन्तिम नतिजा सार्वजनिक गरेको हो । दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली लगायतका जिल्लामा एक विद्यालय एक नर्स कार्यक्रमका लागि कर्मचारी अभाव भएपछि प्रदेश सरकारले एकैपटक १ सय २९ जना कर्मचारीका लागि आवेदन माग गरेको थियो ।