
पोखरा । पोखरामा एक पुरुषले आत्मदाह गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठाभित्रै आत्मदाह गरेका हुन् । उनले आफ्नो शरीरमा आफैंले आगो लगाएको पाइएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीले जानकारी दिनुभयो । उहाँका अनुसार घरको कोठाभित्र चुक्कुल लगाएर आगो लगाई उनले आत्मदाह गरेको भेटिएको हो । प्रहरी घटनास्थलमा पुग्दा अर्यालका शरीर पुरै जलेको अवस्थामा फेला परेको थियो ।
तीनतले घरको दोस्रो फ्ल्याटमा उनले आगो लगाएर आत्महत्या गरेको देखिएको डिएसपी जोसीले बताउनुभयो । श्रीमति जागिरमा र छोरी घरबाहिर रहेको अवस्थामा सो घटना भएको प्रहरीले जनाएको छ । अर्यालले आत्मदाह गरेको कोठाको नजिकै एउटा ग्यालिन पनि भेटिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।