images
images

रोकिएन ठुला व्यवसायी पक्राउको शृंखला, किन पर्दैछन् सरकारको निशानामा ?

भक्तपुर । ठुला व्यापारिक घरानाका व्यवसायीहरु धमाधम अनुसन्धानमा तानिन थालेका छन् ।

सरकारले एकपछि अर्का ठुला व्यसायीहरुलाई धमाधम नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । सरकारले व्यवसायी दिपक भट्टबाट सुरु गरेको अनुसन्धान नेपालकै ठुलो व्यवसायिक घरानामा पर्ने शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल र उनको छोरा सुलभ अग्रवालसम्म पुगेको छ । यतिमात्रै होईन अझै अन्य साझेदार प्रहरीको खोजीको सूचीमा छन् ।

शंकर ग्रुपका सञ्चालक पनि पक्राउ

सम्पत्ति शुद्धीकरण र शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा एकपछि अर्का व्यवसायी पक्राउ पर्न थालेपछि नयाँ तरंग पैदा भएको छ । सुरुमा व्यवसायी दिपक भट्ट सम्पत्ती शुद्धीकरण लगाएतका आरोपमा पक्राउ परेपछि उनीसँग व्यवसायिक साझेदार र आर्थिक सम्बन्ध रहेका अन्य ठुला घरानाका व्यक्तिहरुमाथि पनि निगरानी बढाईएको हो ।

सम्पत्ति शुद्धीकरणसहितका आरोपमा अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युुरो (सिआईबी) ले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार पक्राउ गरेको थियो । सरकारको यो शृंखला यतिमा मात्रै रोकिएन, लगत्तै उनका छोरा सुलभ पनि पक्राउ परे । उनको राहदानी समेत रोक्का गरिएको छ ।

शंकर ग्रुपका सञ्चालक सुलभ यसअघि कोभिड १९ महामारिको समयमा पनि थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । उनी फेरी भट्ट प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धानमा तानिएका हुन् । भट्ट शंकर ग्रुपका अभिन्न अंग हुन् ।

शंकर र दीपक कनेक्सन

शंकर अग्रवाललाई शुक्रबार अपरान्ह बयानका लागि बोलाईएकोमा बयान नसकिएपछि थुनामै राखिएको छ । उनको अनुसन्धान दीपक भट्टसँग जोडिएको छ । हिमालय वैंकबाट जगदम्बा स्टिलको नाममा लिएको ऋणमध्य करिव ४३ करोड दीपक भट्टको खातामा पुगेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

त्यसबाहेक हिमालयन रि ईन्स्योरेन्स कम्पनीको सेयर सम्बन्धमा पनि उनीमाथि अनुसन्धान सोझिएको छ । यसमा पनि भट्ट कनेक्सन जोडिएको छ । बिहिबार मात्रै राहदानी रोक्का गरी कालोसूचीमा राखिएका विवादित पृष्ठभुमीका भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

भट्ट पक्राउ परेसँगै सोही विषयमा बयानका लागि शंकर अग्रवाललाई पनि पक्राउ गरिएको हो । देशकै ठुलो व्यवसायिक घरानाका मालिक पक्राउसँगै कर्पाेरेट जगत तरंगित भएको छ । यसले व्यावसायिक क्षेत्रमा अब सरकारको निशानामा को पर्ने हो भन्ने त्रास पैदा गरेको छ ।

के छ शंकर ग्रुपको व्यवसाय ?

नेपालमा ठुलो व्यावसायिक घरानाका रुपमा रहेको शंकर ग्रुप बेला बेलामा विवादमा पर्ने गरेको छ । शंकर ग्रुप अन्तरगत दक्षिण एसियाकै ठुला स्टिल कम्पनीमध्य एक जगदम्बा स्टिल सञ्चालनमा रहेको छ ।
जगदम्बा स्टिल नेपालकै ठुलोमध्यको एक फ्याक्ट्री हो ।

यसबाहेक यो समुहले प्रोटोन कारसहित टिभिएस ब्राण्डको दुई पांग्रे सवारी साधन आयात तथा विक्रि गर्ने गरेको छ । भदौ २४ को जेनजी आन्दोलनका क्रममा जलाइएको हिल्टन होटेल समेत सोही समूहले सञ्चालनमा ल्याएको थियो ।