दोलखा । दोलखाको जिरी नगरपालिकाका एक बृद्ध गुरुम्फी बजार नजिकैको खोलामा मृत फेला परेका छन् ।
जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातल घर भएका अन्दाजी ६०/६५ वर्षीय रत्नबहादुर सुनुवार गौरीशंकर गाउँपालिका वडा नम्बर ५ स्थित गुरुम्फी खोलामा मृत फेला परेका हुन् । सूरीस्थित छोरीको घरमा बस्दै आएका सुनुवार आज बिहानै घरबाट निस्केकोमा दिउँसो करिव साँढे २ बजे गुरुम्फी खोलामा ढुंगाको चेपमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) बिक्रम लामाले जानकारी दिनुभयो ।
स्थानीयले माछा मार्ने क्रममा खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै ईन्स्पेक्टर लामाको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा शव निकालिएको दोलखा प्रहरीले जनाएको छ । मृतकको शब हाल घटनास्थलमै रहेको र आफन्त आईपुगेपछि पोष्टमार्टमका लागि पशुपति चौलागाईँ स्मृती अस्पताल चरिकोटमा ल्याईने प्रहरीले जनाएको छ ।










