images
images

घरमा छापा मारिएकोप्रति मुख्यमन्त्री बानियाँको आपत्ति, चरित्रमाथि आघात पुगेको भनाई

  • २१ बैशाख २०८३, सोमबार १७:३८

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित आफ्नो घरमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् ।

विभागले छापा मारेपछि विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले आफ्नो व्यक्तिगत एवम् सामाजिक चरित्रमाथि आघात पुगेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले आफ्नो राजनैतिक र व्यवसायिक जीवनका बारेमा गर्ने अनुसन्धानलाई आफूले सकारात्मक रुपमा लिने बताएका छन् । राज्यको जुनसुकै निकायले अनुरोध गर्दा पनि अनुसन्धानका लागि आफू भौतिक रुपमा उपस्थित हुने अवस्थामा छापा मारेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री बानियाँले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो समर्थन र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ । सम्पती शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।

विभागको टोलीले बानियाँको काठमाडौँस्थित नक्साल र सुन्धारस्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो ।