images
images

बागमती प्रदेशद्धारा सवारी साधन कर बाँडफाँड, दोलखाको कुन पालिकाले कति पाए ?

  • २१ जेष्ठ २०७९, शनिबार १५:४४

जिरी (दोलखा) । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १३ वटै जिल्लालाई सवारी साधन करको रकम बाँडफाँड गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को बागमती प्रदेश सरकारबाट स्थानीय सरकारलाई हस्तान्तरण हुने सवारी साधानको कर बाँडफाँड भएको हो । काठमाण्डौं उपत्यका (केन्द्रिय राजधानी) समेत अटाएको बागमती प्रदेशले सवारी साधन बापत उठाएको ५१ करोड ५१ लाख बढी कर स्थानीय तहहरुलाई बाँडफाँड गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगत प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेशभित्रका १ सय १९ वटै स्थानीय तहका लागि ५१ करोड ५१ लाख १९ हजार ६ सय ८६ रुपैयाँ कर बाँडफाँड गरेकोे छ । विद्यमान व्यवस्था बमोजिम प्रदेश सरकारले उठाएको सवारी साधन राजस्व केन्द्र सरकारले ६० प्रतिशत पाउनेछ भने बाँकी ४० प्रतिशत राजस्व प्रदेश भित्रका स्थानिय निकायलाई वितरण गर्ने गरिएको छ ।

दोलखाको स्थानीय तहलाई २ करोड ७३ लाख

बागमती प्रदेशबाट दोलखाका लागि २ करोड ७३ लाख ४ सय ७९ रुपैंया सवारी साधन कर बाँडफाँड भएको छ । जसअनुसार सबैभन्दा बढी जिल्लाको भीमेश्वर नगरपालिकालाई ४४ लाख ८ हजार ९३० रुपैंया आएको छ भने सबैभन्दा कम मेलुङ गाउँपालिकालाई १८ लाख ९७ हजार ३५० रुपैंया सवारी साधन कर प्राप्त भएको छ । यसैगरी, विगुमा ३३ लाख ७५ हजार ८९ रुपैंया, गौरीशंकरमा २८ लाख ९७ हजार ४४०, शैलुङ २५ लाख १५ हजार ९७८, जिरी नगरपालिकामा २२ लाख ४६ हजार ४५७, कालिञ्चोकमा २१ लाख ६१ हजार १५८, बैतेश्वरलाई १९ लाख ९३ हजार ३०१ र तामाकोशीमा १९ लाख ५२ हजार ८६५ सवारी साधन कर बापतको रकम आएको छ ।

२०७८ साल चैत १ देखि २०७९ साल बैशाख मसान्तसम्म गरी एक वर्षको प्रदेश विभाज्य कोषमा जम्मा भएको सवारी साधन करको बाँडफाँड गरिएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सो रकम पालिकाहरुलाई सम्बन्धित बैंक मार्फत जम्मा गरिएको प्रदेश लेखा नियन्त्रक हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।