images
images

१९ औँ पटक मन्त्रीपरिषद विस्तारको तयारी, नाउपाकी अध्यक्ष श्रेष्ठ मन्त्री बन्दै

  • २२ जेष्ठ २०८१, मंगलवार ०८:२२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको हो । अध्यक्ष श्रेष्ठलाई पुनः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनाउने तयारी छ । हाल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले यो मन्त्रालयको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले एक मन्त्री र एक राज्यमन्त्रीसहित नाउपालाई सरकारमा सहभागी गराउने आश्वासन दिनुभएको छ ।

यसअघि नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि नाउपा सरकारबाट बाहिरिएको थियो । प्रधानमन्त्री प्रचण्डले २०७९ साल पुस ११ गते यता १८ औँ पटक मन्त्रीपरिषद विस्तार गरेकोमा यो पटक १९ औँ पटक विस्तार हुनेछ । नाउपाभित्रै छुट्टै अडान लिएर प्रचण्डलाई साथ दिइरहेकी अध्यक्ष श्रेष्ठले सो मन्त्रालयमा जान लागेको स्वीकार गरेकी छिन् । तर प्रधानमन्त्रीको सचिवालयले मन्त्री हेरफेरबारे जानकारी नभएको बताएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनमा हेरफेर भैरहँदा प्रचण्डले पटक–पटक मन्त्रीमण्डलमा हेरफेर गरिरहनुभएको छ ।

यसअघि प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदमा श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री थिइन् । तर, गत फागुन २१ मा सत्ता समीकरण फेरिएपछि उनी मन्त्रीबाट हटेकी थिइन् ।