images
images

भारतीय लोकसभामा प्रधानमन्त्री मोदी तेस्रो पटक विजयी, मतान्तर घट्दै

  • २२ जेष्ठ २०८१, मंगलवार १८:०९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभामा हालसम्मकै सबैभन्दा कम मतान्तरले विजयी भएका छन् ।

प्रधानमन्त्री मोदी लोकसभाका लागि तेस्रोपटक विजयी भएका हुन् । भारतमा भएको लोकसभा निर्वाचन २०२४ मा प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पराजित गर्दै प्रधानमन्त्री मोदी विजयी भएका हुन् । अघिल्ला दुई निर्वाचनको तुलनामा यो पटक मोदीको मतान्तर कम देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । निर्वाचनमा प्रधानमन्त्री मोदीले रायलाई एक लाख ५२ हजार ३ सय ५५ मतले पराजित गरेका हुन् ।

प्रधानमन्त्री मोदीले यो निर्वाचनमा सन् २०१९ मा प्राप्त गरेको भन्दा कम मत पाएका छन् । यसअघि २०१९ मा ६ लाख ७४ हजार ६ सय ६४ मत प्राप्त गरेका प्रधानमन्त्री मोदीले यो पटकको निर्वाचनमा ६ लाख ११ हजार ४ सय ३९ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका रायले १ लाख ५२ हजार ५ सय ४८ मत मात्रै प्राप्त गरेकोमा यो निर्वाचनमा ४ लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन् । निर्वाचनमा प्रतिस्पर्धीले मत बढाउँदै लगेपछि प्रधानमन्त्री मोदीको लोकप्रीयता घट्दै गएको अनुमान गरिएको छ ।