मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् ।
जंगली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवार ७ जना बिरामी परेका हुन् । जंगली च्याउकाे तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका- ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्।
त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ। बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।










