images
images

जिरी नगरपालिकामा यसरी सुरु भयो असारे विकास अन्त्यको प्रयास, सत प्रतिशत योजनाको भुक्तानी

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यतालिका नै बनाएर असारे विकास अन्त्यको प्रयास थालेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि योजना सम्झौता र योजना तथा कार्यक्रम सम्पन्नताको मिति नै तोकेर हतारहतारमा आर्थिक वर्षको अन्त्यमा हुने असारे विकासलाई विट मार्ने प्रयास थालेको हो । फागुन मसान्तभित्र सबै योजनाको सम्झौता गरेको जिरी नगरपालिकाले जेठ मसान्तभित्रै सबै योजनासम्पन्न गरी भुक्तानी दिने लक्ष्य राखेको थियो । सोही अनुसार नगरले लिएको लक्ष्य पूरा भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै योजनाको सम्झौता कार्य फागुन मसान्तभित्र सकिसकेको थियो भने भुक्तानी प्रकृया पनि कार्यतालिका अनुसार नै भएको छ । योजना सम्झौता भए अनुसार सत प्रतिशत योजनाको भुक्तानी भइसकेको सापकोटाको भनाई छ ।

उपभोक्ता समितिबाट योजना कार्यान्वयन गर्दा प्रकृयागत सहजताको लागि योजना सम्झौतादेखि लिएर फरफारकसम्म आवश्यक पर्ने सबै कागजात समावेश गरिएको सहभागीतामुलक योजना कार्यान्वयन किताव तयार गरी लागु गरिएकोले पनि उपभोक्तालाई यो वर्ष योजना कार्यान्वयन गर्न धेरै सहज भएको नगरप्रमुख मित्र बहादुर जिरेल बताउनुहुन्छ ।

कार्यपालिकाले निर्णय गरेअनुसार योजना सम्झौताको अन्तिम चरणमा हरेक दिन ‘काउन्ट’ गर्दै नगरपालिकाले सम्झौताका लागि उपभोक्तालाई अपिल गरेको थियो । नगर कार्यपालिकाको बैठकले विकास निर्माणका योजनालाई पारदर्शी र गुणस्तरीय बनाउनका लागि समयमै योजना सम्झौता गरी काम थाल्ने नीति लिएको थियो । गत भदौ महिनामा जिरी नगरकार्यपालिकाको वैठकले वार्षिक योजना एवँ कार्यक्रम कार्यान्वयन कार्यतालिका २०८० स्विकृत गरेको थियो । सो कार्यतालिकामा फागुन मसान्तसम्म योजना सम्झौता र जेठ मसान्तसम्म सवै योजनाको अन्तिम भुक्तानी गरिसक्ने उल्लेख छ । जस अनुसार जिरी नगरपालिकाले चालु आर्थिक वर्ष नगरपालिकाका सवै वडामा घुम्ति शिविरको आयोजना गरेर करिव एक सयवटा योजनाको फिल्डमै सम्झौता गराएको थियो ।

जिरी नगरपालिकामा चालु आर्थिक वर्ष २३५ वटा विकास निर्माणका योजना संचालन गरिएको थियो । नगरले चालु वर्ष ५३ करोड ३ लाख २३ हजार बराबरको बजेट ल्याएको थियो । त्यस मध्ये चालुतर्फ ३५ करोड ४२ लाख २३ हजार र पूँजिगततर्फ १७ करोड ६० लाख ९९ हजार बजेट थियो ।