
दोलखा । बचतकर्ताहरुको आठ अर्व भन्दा बढि रकम जोखिममा पारेको आरोपमा पक्राउ परेका दोलखा घर भएका कृष्णबहादुर (केबी) उप्रेतीलाई नेकपा एमालेले कारबाही गरेको खुलासा भएको छ ।
उप्रेतीलाई आर्थिक हिनामिनाको उजुरीपछि पार्टीले चार महिना अघि नैं कारबाही गरेको खुलेको हो । नेकपा एमालेका केन्द्रीय सहकारी विभागका सचिव रहेका उनलाई पार्टीले पक्राउ पर्नु अघि नैं पदबाट निलम्वन गरेको थियो । उप्रेतीको संस्थामा समस्या आएकाले पार्टीको सचिवालयले उनलाई जिम्मेवारीबाट हटाएको नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीले जानकारी दिनुभयो ।
सहकारी अभियान्ता समेत रहेका उप्रेती दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुका स्थायी बासिन्दा हुन् । आईडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती हिजो काठमाडौँबाट पक्राउ परेका थिए । उप्रेती गत चैत्रदेखि फरार थिए । उनलाई दुई हजार बचतकर्ताको ८ अर्ब रुपैयाँ हिनामिना गरेको जोहेरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको थियो । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी काठमाडौँका ठूला सहकारी मर्ज भएर बनेको थियो ।
विभिन्न सहकारी मर्ज गर्दै हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गर्दै आएका उप्रेतीले गत वर्षको असारमा सो सहकारीमा आईडियल यमुना बहुउद्देश्यीय सहकारी, हाम्रो बहुउद्देश्यीय सहकारी, घेदुङ बहुउद्देश्यीय सहकारी र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनाएका थिए । मर्जरपछि बनेको सहकारीको कुल निक्षेप तथा सम्पत्ति करिव ८ अर्ब रुपैयाँ पुगेको छ भने ३० हजारभन्दा बढि सेयर सदस्य पुगेका छन् । उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत हुन् ।
घ्याङसुकाठोकर घर भएका अर्का संचालक फरार
यमुना आईडियलकै अर्का सञ्चालक दोलखाको घ्याङसुकाठोकर घर भएका कुयाङ लामा फरार रहेका छन् । उप्रेती र लामाका दुई सहकारी मर्ज गरेर आईडियल यमुना सहकारी बनेपछि त्यसको अध्यक्षमा उप्रेती र सचिवमा लामा चयन भएका थिए । सचिव लामाले तामाङ घेदुङको १४ करोड रकम पनि जोखिममा पारेको आरोप लागेको छ । लामाको प्रलोभनमा परेर तामाङ समुदायको साझा संस्था नेपाल तामाङ घेदुङले महंगो ब्याज आउने आसमा यमुना सहकारीमा नगदसहित १४ करोड बराबरको जायजेथा रोखेको थियो ।
तर, आईडियल यमुना सहकारीले तामाङ घेदुङको १४ करोड भन्दा बढि मुल्य बराबरको जायजेथा जोखिममा पारेको घेदुङका अध्यक्ष मोहन गोलेले बताएका छन् ।