दोलखा । दोलखामा २ हजार भन्दा बढी मतदाता थपिएका छन् ।
बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनपछि दोलखामा २ हजार ६ सय ३१ जना मतदाता थपिएका हुन् । जसमध्ये १ हजार ८६ जना महिला र १५ सय ४५ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय असारमा ८ सय ४४ जना महिला र ११ सय ४० जना पुरुष गरी १ हजार ९ सय ८४ जनाले नाम दर्ता गराएका थिए । यस्तै साउन महिनामा ४ सय ५ जना पुरुष र २ सय ४२ महिला गरी ६ सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । योसँगै जिल्लामा मतदाताको संख्या १ लाख ६२ हजार ७ सय २७ पुगेको छ । यसअघि बैशाखमा भएको स्थानिय तह निर्वाचनसम्म दोलखामा १ लाख ६० हजार ९६ मतदाता रहेका थिए । दोलखामा स्थानिय तहको निर्वाचनपछि असार १ गतेदेखि मतदाता नामावलीले संकलन कार्य सुरु भएको थियो ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेसँगै आज बेलुकीबाट मतदाता नामावली संकलन बन्द भएको छ ।










