दोलखा । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारलाई सरकारको रुपमा अघि बढाउन लागिपर्ने बताउनुभएको छ ।
प्रदेश सरकार सरकार नभएर विकासे अड्डा जस्तो भएको भन्दै उहाँले प्रदेश सरकारले दिने सेवालाई प्रभावकारी बनाउन लागि पर्ने बताउनुभएको हो । प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका काफ्लेको स्वागतमा नेपाली कांग्रेस दोलखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बागमती प्रदेशको सेवाको विषयमा जनस्तरबाट समेत प्रश्न उठिरहेका बेला आँफु मन्त्रीमण्डलमा सहभागि भएको भन्दै मन्त्री काफ्लेले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने बताउनुभयो ।
बागमती सहित कुनै पनि प्रदेशले संघियताको प्रयाक्टिस गर्न नसकेको भन्दै उहाँले प्रदेश सरकारहरु विकासे अड्डाको रुपमा अघि बढेको टिप्पणी गर्नुभयो । आफु प्रदेश सरकारको मन्त्री भएका हिसावले प्रदेशभित्रका सबै जिल्लाको समस्या समाधान गर्नुपर्ने दायित्व भएपनि गृहजिल्लाको समस्या समाधानमा विशेष जोड दिने उहाँको भनाई छ ।
साउन ९ गते बागमती प्रदेश सरकारको मन्त्री बनेका काफ्ले मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला दोलखा आउनुभएको हो । आर्थिक मामिलामन्त्री काफ्लेलाई दोलखामा बाजागाजासहित स्वागत गरिएको थियो ।