जिरी (दोलखा) । बागमती प्रदेशले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष दोलखाका ७ सहित प्रदेशभरको ९२ वटा विद्यालयका लागि नर्सको आवेदन माग गरेको छ ।
बागतमी प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले यहि भदौ १३ गते सुचना जारी गर्दै प्रदेशभित्रका विभिन्न ९२ वटा विद्यालयका लागि ९२ जना नर्सको आवेदन माग गरेको हो । मन्त्रालयले दोलखा, रामेछाप, काठमाडौ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा पाँचौं तहको करारमा नर्सको आवेदन माग गरेको छ । दोलखा जिल्लाको लागि निर्देशनालयले ७ जना नर्स माग गरेको छ । जसअनुसार मेलुङ गाउँपालिकाका लागि २ जना, भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र गौरीशंकर, तामाकोशी, विगु गाउँपालिकामा १/१ जना नर्स करारमा परिपूर्ति गर्न लागिएको छ ।
मेलुङ गाउँपालिकास्थित लक्ष्मी मावि र त्रिभुवन मावि, जिरी नगरपालिकास्थित जिरी मावि, तामाकोशी गाउँपालिकास्थित महेन्द्र मावि, भिमेश्वर नगरपालिस्थित देवी मावि, विगु गाउँपालिका र गौरीशंकर गाउँपालिकाका दुई विद्यालय गौरीशंकर मावि तथा मानेडाँडा माविका लागि पनि नर्स माग गरिएको छ ।
यद्धपी, यो वर्ष शैलुङ गाउँपालिका, कालिञ्चोक गाउँपालिका र बैतेश्वर गाउँपालिकाका लागि भने एक विद्यालय एक नर्स कार्यक्रमका लागि नर्स माग गरिएको छैन । यसैगरी, यो वर्ष रामेछापको रामेछाप नगरपालिकास्थित शारदा संस्कृत मावि, लिखु तामाकोशी गाउँपालिकास्थित झत्तेश्वर मावि, सुनापति गाउँपालिकास्थित पशुपति मावि र मन्थली नगरपालिकास्थित कृष्णमावि र निलकण्ठेश्वर माविका लागि १ /१ जना गरी ५ जना नर्सको आवेदन माग गरिएको छ ।
मन्त्रालयको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत नर्स सेवा करारमा राख्नुपर्ने भएकाले योग्यता पुगेका १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आव्ह्वान गरेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले भदौ १३ गतेदेखिको मितिले १५ दिनभित्र दरखास्त दिनको लागि आव्ह्वान गरेको छ ।
बागमती प्रदेश सरकारले विगत चार वर्षदेखि विद्यालयमा नर्स राख्न थालेको हो । यसअघि गत वर्ष प्रदेशको १३ वटै जिल्लाका विभिन्न विद्यालयमा १ सय ३६ जना नर्स थपिएका थिए ।










